काठमाण्डु – चितवनको राप्तीमा प्रहरी र स्थानियबीच झडप भएको छ । राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासीले अवरुद्ध गरेको पूर्व पश्चिम राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको हो ।
सुजिताको शव भेटिएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आएका छन् । प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको बताए ।
अहिले पनि बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । प्रर्दशनकारीहरुले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । युवाहरुको एक समूहले चौबिसकोठी चोकमा भ्रष्ट प्रशासन चाहिदैन, शान्ति सुरक्षा कायम गर, सुजिताको अत्मालाई शान्ति दे, हामीलाई न्याय दे भन्दै नारावाजी गरेका छन् ।
राजमार्ग क्षेत्रमा कर्फ्यू जारी
भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा पुर्व पश्चिम राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ । चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन् ।





प्रतिक्रिया