काठमाण्डु – अखिल नेपाल सुकुमबासी संघले भोलि बिहीबार पूर्वपश्चिम राजमार्ग ५ घण्टा चक्काजाम गर्ने घोषणा गरेको छ ।
बुधबार काठमाण्डुको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै संघले वैशाख ३१ गते बिहान ५ देखि १० बजेसम्म राजमार्ग चक्काजाम गर्ने जानकारी दिए ।
अखिल नेपाल सुकुमबासी संघका इन्चार्ज नहेन्द्र खड्काले आन्दोलन देशभरका सुकुमवासीको अधिकारसँग जोडिएको भन्दै सहयोगका लागि सबैलाई अपिल गरे । उनले चक्काजामलाई कुनै पार्टी वा संगठन विशेषको नभई सुकुमबासी समुदायको अधिकारका लागि गरिएको आन्दोलनका रूपमा लिन आग्रह गरेका छन् ।
‘चक्काजामले देशभरका सुकुमबासीको एकताको सन्देश दिन जरुरी छ,’ खड्काले भने, ‘सरकारी अनधिकृत डोजर आतंकका कारण आत्महत्या गर्न बाध्य हुनेदेखि अर्बौंको सम्पत्ति क्षति भएको छ, यसको प्रतिवाद आवश्यक छ ।’
संघका अध्यक्ष अमर परियारले पनि चक्काजामलाई सहयोग गर्न आग्रह गर्दै सुकुमबासीका लागि जमिन व्यवस्थापनको माग गरेका छन् ।
संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले सरकारले नागरिकको आवास अधिकारसम्बन्धी संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाए । उनले प्रधानमन्त्री वालेन्द्र साहप्रति समेत आक्रोश व्यक्त गर्दै उनलाई तानाशाह प्रवृत्तिको भएको आरोप लगाए ।
नेपाली कांग्रेस निकट नेपाल सुकुमबासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष राजकुमार पाण्डेले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ७७ वटै जिल्लामा संघर्षमा उत्रिन आह्वान गरेका छन् ।
जसपा निकट सुकुमबासी संघका अध्यक्ष तथा संयुक्त सुकुमबासी मोर्चाका महासचिव अर्जुन कुँवरले पनि चक्काजाममा समर्थन जनाउँदै डोजर अभियानविरुद्ध आपत्ति जनाएका छन् ।
महासचिव प्रकाश खरेलले पूर्वपश्चिम राजमार्ग चक्काजामसँगै भोलि बिहीबार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन हुने जानकारी दिए ।




प्रतिक्रिया