काठमाण्डु – विवादास्पद छवि बनाएका व्यापारी सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ताहरूले उनको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। व्यवस्थापनको मनोमानी अन्त्य गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरूले अध्यक्ष अग्रवाल र सीईओ मनोजकुमार लाल कर्णको राजीनामा माग गर्दै हात्तीसारस्थित कार्यालय घेराउ गरेका हुन्।
अभिकर्ताहरूले हिमालयन लाइफमा सञ्चालकहरूले मनोमानी गरेको, अभिकर्ताको न्यूनतम बोनसदर प्रति हजार ५० हजार रुपैयाँ कायम गर्नुपर्ने र सीईओले काम गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने माग राखेका छन्। उनीहरूले निरन्तर धर्ना समेत दिइरहेका छन्।
अग्रवाल ब्रोकर दीपक भट्टका साझेदार हुन्। उनीहरूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग मिलेर लाइसेन्स खरिद–बिक्री गरेको आरोप छ। साथै, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिन चलखेल गरेको र सरकारी लगानी रहेको नेपाल रिइन्स्योरेन्स कब्जा गर्न हिमालयन लाइफलाई दुरुपयोग गरेको आरोप पनि लागेको छ।
हिमालयन लाइफमार्फत उनीहरूले एनआरआईसीको सेयर खरिद गर्न नियमविपरीत ४ अर्ब रुपैयाँको सामूहिक लगानी कोष ल्याएको बताइएको छ। उक्त कोषलाई अनुमति दिने कार्य पनि उनीहरूले नै नियुक्त गरेका धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नियमविपरीत स्वीकृति दिएका थिए ।
कर्णकी श्रीमती सुधाले आफ्नै लगानि रहेको ५५ नम्बर ब्रोकरबाट नेपाल रीको सेयर समेत खरिद गरेको भन्दै उनिहरुको आलोचना भएको छ । अग्रवाल र भट्ट समुह नेपाल रिलाई हिमालयन रि मा मर्जर गराउनका लागि अहिले दोस्रो बजारबाट सेयर खरिद गरिरहेको छ ।
कर्णले बीमितको हितमा भन्दा व्यवस्थापनको स्वार्थमा काम गरिरहेको भन्दै अभिकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।




प्रतिक्रिया