जनकपुरधाम – जनकपुरधाममा दिनहुँजसो विरोध, प्रदर्शन, ज्ञापनपत्र बुझाउने, धर्ना, आन्दोलन हुनु कुनै नयाँ कुरा होइन । तर मंगलबार ज्ञापनपत्र बुझाउने एउटा अनौठो शैली देखिएको छ ।
विगत लामो समयदेखि चुरे तथा वनजंगल संरक्षणसहितका मागहरु लिएर आवाज उठाउँदै आएका चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आँखामा कालोपट्टी बाँधेर नगर परिक्रमा गरेका छन् ।
विभिन्न माग राख्दै आँखामा कालोपट्टी बाँधेर जनकपुरधामको नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले ज्ञापनपत्र बुझाएका छन् ।
संयोजक यादवले आँखामा पट्टी बाँधेर जनकपुरधामको जनक चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेश सरकारका उपसचिव वासुदेव मल्ललाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
यादवले बुझाएको ज्ञापनपत्रमा हाल संसद्मा पेश भएको भूमि व्यवस्था ऐन तत्काल फिर्ता लिन माग गरिएको छ ।
प्राकृतिक स्रोतमाथि भू–माफियाको वर्चस्व बढेर सरकारी वन क्षेत्र समाप्त हुने भएकाले ऐन तत्काल संसद्बाट फिर्ता लिई वन–जंगल क्षेत्र हटाएर ऐन पेश गर्ने व्यवस्था गर्न समेत ज्ञापन पत्रमा सुझाइएको छ ।
खानेपानीको व्यवस्थाअन्तर्गत अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना, कार्यक्रम र बजेट सुनिश्चितता गरी कार्यान्वयनको लागि घोषणा गर्न, मधेश प्रदेशलाई सुख्खा खडेरी र जल संकटग्रस्त क्षेत्र सरकारले घोषणा गरे पनि किसानको लागि तत्कालीन राहत र क्षतिपूर्तिको घोषणा गरी रकम उपलब्ध गराउनुपर्ने लगायतका मागहरू छन् ।




प्रतिक्रिया