काठमाण्डु – नेपाली काग्रेसका सांसद सुनिल शर्माविरुद्ध परेको मुद्दा नचल्ने भएको छ । मोरङ- ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित सांसद शर्माविरुद्ध नक्कली प्रमाणपत्रको विषयमा मुद्दा अब नचल्ने निर्णय महान्यायाधिवक्ता केशव बडालले गरेका हुन् । महान्यायाधिवक्ता बडालले मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको टिप्पणीलाई सदर गरेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयमा ७ साउनमा पुगेको फाइलबारे महान्यायाधिवक्ता बडालले १४ साउनमा सदर गरेका हुन् । निर्णय महान्यायाधिवक्ता कार्यालयले बिहिबारमात्रै सार्वजनिक गरेको हो ।
कांग्रेस सांसद शर्मामाथि नक्कली प्रमाणपत्र, सरकारी कागजात किर्ते र ठगीसहित तीन मुद्दामा अनुसन्धान भए पनि जिल्ला सरकारी वकिलको कार्यालय मुद्दा चलाउन उपयुक्त नहुने भन्दै टिप्पणी उठाएको थियो ।
उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । सिआईबीले फाइल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णयको टिप्पणी उठाएको थियो ।
उनीविरुद्ध मुद्दा नचल्ने निर्णयका लागि २०७३ सालदेखि अनुसन्धान भएकाले हदम्याद नभएको, विदेशी विश्वविद्यालयले दिएको प्रमाणपत्रमा सरकारी छाप किर्ते गरेको भन्न नमिल्ने र विगतमा ठगीमा मुद्दा दायर भएर एउटा मुद्दा पनि ठहर नभएको नजिरलाई वकिल कार्यालयले आधार मानेको थियो ।
सांसद शर्माले एमबीबीएस पढ्दा पेस गरेको आईएससीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै सीआईबीले अनुसन्धान गरेको थियो । अनुसन्धान गर्न भन्दै शर्मालाई २०८० साउनमा पक्राउ गरेर केही दिनमा अदालतको आदेशमा छोडेका थिए ।




प्रतिक्रिया