राजीनामा दिएपछि बालेनलाई काठमाण्डु महानगरको धन्यवाद

राजीनामा दिएपछि बालेनलाई काठमाण्डु महानगरको धन्यवाद


काठमाण्डु – काठमाण्डु महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् ।

आईतबार भएको ४६औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।

उनले भनिन्, ‘महानगर प्रमुखले आफ्नो कार्यावधिभर काठमाण्डु महानगरपालिकाको विकास गर्न, सुशासन कायम गर्न र महानगरमा सम्पूर्ण रूपले खेल्नुभएको सकारात्मक भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दछौं । आगामी दिनमा उहाँले चाल्नुभएको पाइला सफल होस् भन्ने कामना दिन चाहन्छौं ।’

बैठकमा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र काठमाण्डु महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था अनुसार २०८२ माघ ४ गते देखि लागू हुने गरी काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजीनामा दिएको पनि जानकारी उनले गराएकी छन् ।

उनले भनिन्, ‘आज मिति २०८२ माघ ४ गते नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ र काठमाण्डु महानगरपालिकाको प्रचलित कानूनी व्यवस्थाअनुसार आजकै दिन अर्थात २०८२ माघ ४ गतेदेखि लागू हुने गरी काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दिनुभएको राजीनामा मलाई प्राप्त भएको सबैलाई जानकारी गराउन चाहन्छु ।’