काठमाण्डु–काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन्।
शुक्रबार काठमाडौँमा स्थानीय (वडास्तरीय) विवाद र निरुपणका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले महानगरपालिकाले मेलमिलाप केन्द्रबाट स्थानीय विवाद टुंग्याउँदा मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेर विवाद निरुपण गरिरहेको जिकिर गरिन्।
‘मेलमिलाप केन्द्रको हामीले विवादलाई हेरिरहँदा, न्यायिक समिति वा भनौँ स्थानीय सरकारमा जुडिसियल न्यायिक अधिकार दिइसकेपछि यसका विविध पक्षहरु छन् । जसको कारणले गर्दा हामीले अहिले न्याय निरुपण गरिरहँदा मेलमिलापलाई पनि प्राथमिकतामा राखेका छौँ,’ उनले भनिन्।
महानगरपालिकाका ३२ वटै वडामा मेलमिलाप केन्द्र सञ्चालनमा रहेको र यसले न्याय निरुपणलाई छिटो, छरितो बनाउनमा पनि महत्त्वपूर्ण भूमिका खेलेको पनि बताइन्।
‘हामीले सबै कालो अक्षरमा जेजे छन्, त्यो मात्र कुरा हेर्दैनौँ। न्यायिक समितिले व्यवहारिक पक्ष के रहेको छ भन्नेकुरालाई पनि उत्तिकै महत्व दिइरहेको छ। व्यवहारिक र कानूनी पक्ष दुवै कुरा हामीले हेरेर न्याय दिने क्रममा पनि कागजी न्याय मात्र होइन, महशुस दिने खालको न्याय दिन प्रयासरत छौँ,’ उपमेयर डंगोलले भनिन्।




प्रतिक्रिया