सुनौली नाकामा सयौँ नेपाली अलपत्र, लाठीचार्ज गर्दै भारततिर भगाइयो

सुनौली नाकामा सयौँ नेपाली अलपत्र, लाठीचार्ज गर्दै भारततिर भगाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही- भारतका विभिन्न ठाउँबाट आएका ३ सय भन्दा बढी नेपालीहरू सुनौली नाकामा २ दिनदेखि अलपत्र परेका छन् । कोरोना महामारी फैलिएपछी लकडाउन भएको भारतले ७२ घण्टाको लागि लक डाउन खोलेपछि भारतका विभिन्न स्थानबाट नेपाली नागरिकहरू नेपाल आउनका लागि सीमा नाका सुनौली सम्म आएर अलपत्र परेको बताइएको छ ।

सुनौली नाकामा भारततर्फ पनि सबै पसल बन्द भएकाले पानी समेत खाना नपाएको उनीहरूले गुनासो गरेका छन् । सरकार तथा स्थानीय निकायले आफ्ना नागरिकलाई उचित व्यवस्थापन गर्न नखोज्दा उनीहरूले त्यहाँ कष्ट बेहोरिरहेको बताइएको छ ।

रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान र रुकुमसम्मका सयौँ नेपालीहरू अलपत्र भएर आफ्ना सम्पर्कका राजनीतिक दल र स्थानीय सरकारलाई समस्या बताउँदा पनि कुनै पहल नगरेको समेत उनीहरूले बताएका छन् ।

आइतबार सुनौली नाकामा आइपुगेका उनीहरूलाई नेपालतर्फ आउन नदिएपछि भारततर्फको सुनौली बसपार्क वरपर बसिरहेको बताएका छन् । नेपालको सिमाना नजिक आएर वस्तुस्थिति बुझ्न खोज्दा नेपाल प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई भारततर्फ भगाएको त्यहाँ रहेका उनीहरूले बताएका छन् ।

लामो दुरीबाट यात्रा गरेर आएको र त्यहाँ आएपछि पानी पनि खान नपाएकाले उल्टै बिरामी पर्ने अवस्थामा रहेको समेत उनीहरूले बताएका छन्। आफ्नै देश पुगेर क्वारेन्टाइनमै बस्ने योजनामा आएका उनीहरूलाई नेपालकै प्रहरीले समेतले दुर्व्यवहार गरेको गुनासो गर्दै एक जनाले रुँदै गुहार पनि नपाइने हो कि भन्ने चिन्ता भएको बताए ।

अलपत्र परेका मध्यका एक इश्वरी खनालले त्यहाँ बच्चा र महिलापनि रहेकाले उनीहरूले निकै कष्ट पाएको बताए । उनले भने, ‘नेपालतर्फ हेर्न समेत दिइएको छैन, माथिबाट केहि निर्णय नआएको भन्दै प्रहरीले लाठीचार्ज गरेर भारततर्फ नै भगाएको छ ।’

यस बिषयमा बुझ्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई सम्पर्क गर्दा यस विषयमा माथि जानकारी गराएको तर कुनै आदेश नआएको बताएका छन् । पन्थले भने, ‘हामीले यो बिषयमा माथि रिपोर्ट पठाएका छौं, केहि आदेश नआउंदै कुनै कदम चाल्न सकिंदैन ।’

के उनीहरूलाई अलपत्र पारिराख्ने हो त भनेर ओराश्ना गर्दा पन्थले भने, ‘नेपालमा लकडाउन भएको थाहा हुँदाहुँदै उहाँहरू आउनुभएछ, यसरी नआउनुपर्ने हो तर पनि हामीले माथि पहल गरिरहेका छौं, केहि आदेश आउने बित्तिकै सबैलाई समन्वय गरेर छाड्ने छौं । ‘

अलपत्र परेकाहरूले भने त्यहाँ प्रसाशनले कुनै समन्वय नै नगरेको भन्दै सरकारले समयमै नेपाल प्रवेश गर्न नदिएर झनै कष्ट दिन खोजेको आरोप लगाएका छन् । नेपाल आएपछि सबैजना क्वारेन्टाइनमा राख्ने ब्यबस्था गर्नुपर्ने बेलामा झनै अलपत्र पारेर दुख दिने काम गरेको समेत उनीहरूले बताए ।