काठमाण्डु – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष मोहनकुमार डाँगीले सुदूरपश्चिम प्रदेशमा १८ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता हुँदाहुँदै हाल केवल १५९ मेगावाट मात्र उत्पादन हुनु दु:खद रहेको बताएका छन् ।
बुधबार ‘सुदूरपश्चिम प्रदेशमा जलविद्युत् आयोजना निर्माण: सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले १८ हजार मेगावाट क्षमतामध्ये १५९ मेगावाट मात्रै उत्पादन हुनु कुल सम्भावनाको ०.९४ प्रतिशत मात्र भएको उल्लेख गरे ।
उनले यति ठूलो सम्भावना हुँदाहुँदै पनि विभिन्न कानुनी, नीतिगत तथा वनसम्बन्धी जटिलताका कारण अपेक्षित रूपमा काम अघि बढ्न नसकेको बताए । उनले सरकारले जलविद्युत्मैत्री कानुन निर्माण गरी निजी क्षेत्रलाई सहज वातावरण दिनुपर्नेमा जोड दिए ।
डाँगीले जलविद्युत्ले विकास र समृद्धि दुवै ल्याउने उल्लेख गर्दै आयोजना निर्माणका क्रममा सबैभन्दा पहिले सडक र बिजुली पुग्ने भएकाले त्यसले स्थानीय विकासलाई गति दिने बताए ।
उनका अनुसार कानुनअनुसार स्थानीयलाई १० प्रतिशत शेयर अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था छ, जसले स्थानीयस्तरमा आर्थिक समृद्धि ल्याउन सहयोग गर्छ । यद्यपि शेयर वितरणमा देखिएका केही समस्या सुधार गर्न निजी क्षेत्र पनि तयार रहेको उनले स्पष्ट पारे ।
उनले भने, ‘१०० रुपैयाँको परियोजना लागतमा स्थानीयलाई करिब ६ रुपैयाँ बराबरको शेयर जारी हुन्छ, बाँकी ९४ रुपैयाँको व्यवस्थापन पनि निजी क्षेत्रले गर्नुपर्छ । त्यसैले सम्पूर्ण पक्षलाई सन्तुलित रूपमा हेर्न आवश्यक छ ।’
डाँगीले सुदूरपश्चिमको अर्को विशेष अवसर भारतसँगको निकटता भएको उल्लेख गर्दै दार्चुला क्षेत्रबाट भारतीय बजारमा विद्युत् निर्यात गर्न सहज हुने बताए ।
उनले नेपालमा निजी क्षेत्रले २०५५ सालदेखि औपचारिक रूपमा जलविद्युत् क्षेत्रमा प्रवेश पाएपछि उल्लेखनीय प्रगति भएको स्मरण गराउँदै त्यसबेला २४९ मेगावाट रहेको उत्पादन अहिले ४१०० मेगावाट पुगेको बताए ।
अब विद्युत् उत्पादनसँगै प्रसारण लाइन र विद्युत् व्यापारमा पनि निजी क्षेत्रलाई प्रवेश दिनुपर्ने उनको भनाइ थियो । उनले नेपाल विद्युत प्राधिकरणको एकाधिकार हटाएर निजी क्षेत्रलाई विद्युत व्यापार तथा प्रसारण लाइन निर्माणको अनुमति दिन सरकारसँग माग गरेका छन् ।
सरकारले आगामी १० वर्षमा २८ हजारदेखि ३० हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाँगीले निजी क्षेत्र उक्त लक्ष्य पूरा गर्न पूर्ण रूपमा तयार रहेको बताए ।
उनले प्रसारण लाइनलाई सबैभन्दा ठूलो चुनौतीको रूपमा उल्लेख गर्दै भने, ‘सडक बिना गाडी चल्दैन, त्यसैगरी प्रसारण लाइन बिना विद्युत् उत्पादनको अर्थ हुँदैन ।’




प्रतिक्रिया