सुदुरपश्चिम प्रदेशका अर्थमन्त्रीले आफ्नो क्षेत्रमा ४० वटा मन्दिर बनाउने योजना राखेपछी हंगामा

सुदुरपश्चिम प्रदेशका अर्थमन्त्रीले आफ्नो क्षेत्रमा ४० वटा मन्दिर बनाउने योजना राखेपछी हंगामा


काठमाण्डु – सुदुरपश्चिम प्रदेश सभामा बजेटको विषयलाई लिएर हंगामा भएको छ । प्रदेश सरकारले ल्याएको बजेटमा जथाभावी योजना बांडेको भन्दै प्रदेशसभामा सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, अर्थमन्त्री प्रकाश रावल र भौतिक योजनामन्त्री दिर्घ सोडारीको सेटिङमा बजेट आएको भन्दै सत्तारुढ दलहरुभित्रै चर्को असन्तुष्टि सुरु भएको हो ।

प्रदेश सरकारका अर्थमन्त्री रावलले ल्याएको बजेटमा प्रभावशाली मन्त्री र सांसदहरुको मात्र योजना समेटिएको,आर्थिक सुशासन विपरितका गतिविधिहरु भएको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।

उनिहरुले वार्षिक विकास कार्यक्रम पुस्तिका रातो किताबमा थुप्रै त्रुटि भएको र विकास योजना विचौलियाको सेटिङमा राख्ने काम भएको भन्दै आज सत्ता पक्षका बहुमत सांसद रहेको परामर्श समितिको बैठक ने अघि नबढेको हो । बैठकमा विवाद भएपछी आज संसद बैठक चल्न सकेन ।

अर्थमन्त्री रावलले सामाजिक मन्त्रालयमार्फत आफ्नो निर्वाचन क्षेत्रमा ४० वटा मन्दिर राखेको भन्दै उनको चर्को आलोचना भएको हो । सरकारले ल्याएको बजेटप्रति सरकार र प्रमुख प्रतिपक्ष दलका सांसदहरुले चर्को असन्तुष्टि जनाएका छन् ।

प्रदेश सभा सदस्यहरूले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार असार १ गते आगामी आर्थिक वर्षको बजेट पेश गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल बुधबारदेखि अघि बढाउने तयारी गरेको थियो । पुस्तिकाका त्रुटिहरू नसच्चिएसम्म बैठक अघि बढ्न नदिने चेतावनी सांसदहरुले दिएका छन् । प्रदेश सभाको अर्को बैठक असार १२ गते बुधबार बस्ने भएको छ ।