काठमाण्डु – शिक्षा र प्रविधिमा नयाँ युग सुरु गर्दै सिपालु सोलुसनले आफ्ना ३ नयाँ परियोजनाहरू ‘सिपालु कनेक्ट’, ‘सिपालु हार्डटेक’ र ‘सिपालु सफ्टटेक’लाई औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
‘सिपालु कनेक्ट’ एक आधुनिक शैक्षिक सफ्टवेयर हो, जसले विद्यालय, कलेज तथा विश्वविद्यालयका प्रशासनिक र शैक्षिक कार्यहरूलाई सहज, छरितो र व्यवस्थित बनाउने उद्देश्य राखेको छ । यसमा विद्यार्थी तथा शिक्षक विवरण व्यवस्थापन, उपस्थिति प्रणाली, पाठ्यक्रम र रुटिन निर्माण, अध्ययन सामग्री र असाइनमेन्ट व्यवस्थापन, आन्तरिक मूल्यांकन र अंक व्यवस्थापन जस्ता सुविधा समावेश छन् ।
सफ्टवेयरले शैक्षिक संस्था सञ्चालनमा पारदर्शिता, कार्यदक्षता र समय बचत सुनिश्चित गर्ने विश्वास गरिएको छ ।
‘सिपालु हार्डटेक’ले आधुनिक स्मार्ट कक्षाकोठा र प्रयोगशाला निर्माणमा काम सुरु गरेको छ । यसअन्तर्गत कम्प्युटर प्रयोगशाला, नेटवर्क प्रयोगशाला, कृत्रिम बौद्धिकता (एआई) प्रयोगशाला, इन्क्युबेशन प्रयोगशाला तथा प्रविधिमा आधारित सिकाइ वातावरण सहितका स्मार्ट कक्षाकोठा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यस प्रयासले विद्यार्थी र शिक्षकलाई प्रविधिसँग जोड्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ ।
यसैगरी, सिपालुको नयाँ शाखा ‘सिपालु सफ्टटेक’ले सफ्टवेयर विकास, वेब विकास, मोबाइल एप विकास तथा डिजिटल बजार व्यवस्थापन (डिजिटल मार्केटिङ) जस्ता सेवा प्रदान गर्नेछ । कम्पनीका प्राविधिक प्रमुख आशिष गौतमका अनुसार यस शाखाले कम्पनीको नीति, मापदण्ड र गुणस्तरीय कार्यशैली अनुसार सेवा सञ्चालन गर्नेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर दीपेश न्यौपानेका अनुसार सिपालु सोलुसनको मुख्य उद्देश्य नवीन प्रविधि र स्मार्ट नवप्रवर्तन (इनोभेसन) मार्फत नेपालका शैक्षिक संस्था र व्यवसायलाई सशक्त बनाउनु हो । उनले भने, ‘हाम्रो सेवाले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास राख्छौं । डिजिटल रूपान्तरण र स्मार्ट नवप्रवर्तनमा हामी प्रतिबद्ध छौं ।’
सिपालु सोलुसनका यी नयाँ पहलहरूले नेपालका शिक्षण संस्था र व्यावसायिक क्षेत्रका लागि आधुनिक, प्रविधिमैत्री र दीगो समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया