काठमाण्डु – बुटवलस्थित सुप्रिम सहकारीमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली बुटवल पुगेको छ ।
सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वको टोली सुप्रिम सहकारीको पूरक जाहेरीमा अनुसन्धान गर्न बुटवल पुगेको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए ।
आफूहरूको सुप्रिम सहकारीमा रहेको बचत अपचलन गरेको आरोप लगाउँदै गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएपछि त्यसबारे अनुसन्धान गर्न सिआईबी टोली बुटवल पुगेको हो ।
त्यही पूरक जाहेरीका आधार बिहीबार जिल्ला अदालत रुपन्देहीले लामिछानेसहित छविलाल जोशी, दीपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध हिरासतमा लिएर अनुसन्धान गर्न प्रहरीलाई पक्राउ अनुमति दिएको छ ।
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ अनुमति दिएपछि लामिछाने, जोशीसहितविरुद्ध सुप्रिम सहकारी ठगीमा पनि मुद्दा अगाडि बढ्ने भएको छ ।
अहिले लामिछाने र जोशीलगायत पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । जोशीलाई बुटवल लगेर प्रहरीले पहिलो चरणको बयान गराइसकेको छ। लामिछानेलाई बुटवल लैजाने तयारी रहेको प्रहरी स्रोतले जानकारी दियो ।
रवि र छविलाई सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। बुटवलको सुप्रिममा १० हजार ३ सय ९१ सदस्यको १ अर्ब ७ करोड बचत रकममध्ये ७८ करोड गोर्खा मिडियामा अपचलन गरेको आरोप छ।




प्रतिक्रिया