काठमाण्डु – सरकारले पूर्व प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुको सुरक्षा व्यवस्था कटौती गरेपनि संवैधानिक निकायका पदाधिकारीहरुको भने विशेष सुरक्षा व्यवस्था गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त, आयुक्त र सर्वोच्च अदालतका न्यायाधीशका कामकारबाहीमा दबाब र असर पुग्ने गरी सडकमा दैनिकजसो प्रदर्शन हुन थालेको भन्दै नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता बढाएको हो ।
दैनिकजसो सडकमा हुने प्रदर्शनका कारण उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर संवैधानिक निकायका पदाधिकारीहरुको सुरक्षा व्यवस्था बढाउनुपरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोग र सर्वोच्चका न्यायाधीशहरूको सुरक्षामा अलि बढी सावधानी र सतर्कता अपनाइएको हो ।
निर्वाचन आयोगको अनुरोधमा प्रमुख आयुक्त र आयुक्तहरूलाई नियमितबाहेक नेपाल प्रहरीबाट अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । जिल्ला निर्वाचन कार्यालय र निर्वाचन केन्द्रित कार्यक्रमको सुरक्षामा पनि सोहीअनुसार विशेष प्रबन्ध मिलाउन गृहले निर्देशन दिएको छ ।
त्यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटपछि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूको आवागमनमा पनि प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ । पछिल्लो समय मन्त्रिपरिषद्बाट संशोधित विशिष्ट व्यक्तिरुको सुरक्षासम्बन्धी कार्यविधिमा पूर्वपदाधिकारीको सुरक्षासमेत कटौती गरिएको छ ।
त्यसप्रति राजनीतिक दलका नेतादेखि पूर्वप्रधानमन्त्री र पूर्वराजाका तर्फबाट पनि असन्तुष्टि बढेको छ । यसैबीच गृहमन्त्रालयले सुरक्षाकर्मी फिर्ता बोलाएसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व जनमुक्ति सेनाका लडाकूहरुलाई आफ्ना सुरक्षामा खटाएका छन् ।




प्रतिक्रिया