संसद विघटनको मुद्धा ‘हेर्दाहेर्दै’मा, कहिले आउला फैसला ?


काठमाण्डु – सर्वोच्च अदालतले संसद् विघटन विरुद्धको मुद्दालाई आज मंगलबारदेखि हेर्दाहेर्दैमा राखेको छ ।

गत शुक्रबार बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गते सोमबारसम्म बहस नोट बुझाइसक्न दुबै पक्षका कानून व्यवसायीलाई आदेश गरिएको थियो ।

अब यस मुद्धामा बहस नोटको अध्यनपछि फैसला सुनाउने तयारीमा अदालत रहेको छ । गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस भएको थियो ।

गत फागुन ७ गते एमिकस क्युरीबाट बहस गर्ने क्रम सकिएपछि यसलाई हेर्दाहेर्दैमा पेसी तोकिएको हो । अब जुनसुकै दिन पनि फैसाला आउने संभावना छ ।

ढिलोमा आगामी शुक्रबारसम्म फैसाला सुनाउने तयारी छ । पाँच जना एमिकस क्युरीमध्ये एकजना बाहेक चारजनाले प्रधानमन्त्रीको कदम संविधानविरोधी भएकाले विघटनको निर्णय बदर हुनुपर्ने सुझाव दिएका थिए । उनीहरूले पार्टी झगडाको सिकार सिंगो संसदलाई बनाउन नमिल्ने जिकिर गरेका थिए ।

सर्वोच्चले आजदेखि अब कुनै पनि समय फैसला दिने अनुमान गरिएको छ । एमिकस क्युरीको राय शुक्रबार सकिएपछि मंगलबार, बुधबार जहिले पनि फैसला आउनसक्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बताएका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि अन्योल बनेको राजनीति अब कसरी अगाडी बढ्छ भन्ने सर्वोच्चको फैसलामै आधारित हुने हुदा सबैको ध्यान सर्वोच्चको फैसलामा रहेको छ ।

रिट निवेदकका तर्फबाट बहस सकिएपछि माघ १९ देखि विपक्षीबाट बहस सुरु भएको हो । १३ रिट निवेदकका तर्फबाट ६८ जनाले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement