काठमाण्डु – सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ ।
कोरोना भाइरस तिब्र रुपमा फैलीएको र सरकारले बन्दाबन्दी लागू गरेकाले सहजताका लागि समय निर्धारण गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार राजु ढुङ्गानाले जानकारी दिए ।
बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ः०० देखि दिउँसो ३ः००का लागी तोकीएको छ । ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको निवेदन दिउँसो १ः०० बजेसम्म दर्ता गर्न आएमा सोही दिन सुनुवाइ हुने र सो उपरान्त दर्ता हुन आए भोलिपल्ट सुनुवाइ गर्ने तय गरिएको छ ।
यही वैशाख १४ गते बसेको अदालतको पूर्ण बैठकले उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा अदालतबाट दिने सेवा कटौती गर्ने गरेको थियो । सोही निर्णयानुसार रिट दर्ता गर्ने र सुनुवाइ गर्ने समय निर्धारण गरेको छ ।
यस्तै सुनुवाइका क्रममा सम्बन्धित मुद्दामा एक/एक पक्ष र एक/एकजना कानून व्यवसायी मात्र इजलासमा उपस्थित भएर बहस पैरवी गर्ने निर्णय भएको बताइएको छ ।




प्रतिक्रिया