संवैधानिक इजलासमा बहसः विद्यादेवी भण्डारी तीन करोड नेपालीको राष्ट्रपति हो

संवैधानिक इजलासमा बहसः विद्यादेवी भण्डारी तीन करोड नेपालीको राष्ट्रपति हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रतिनिधिसभा जोगाउने प्रयासलाई खिसिट्युरी गरेको भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाईमा बहस गर्दै वरिष्ठ अधिवक्ता दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले निर्दलीय अभ्यास भन्दै सार्वभौम संसद् जोगाउने अन्तिम प्रयासलाई खिसिट्युरी गर्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिले दलीय हैसियत नपुगेको भन्नुभएको छ । उहाँलाई संविधानले ७६(५) मा पुगेपछि दलीय हैसियत खोज्ने अधिकार कसले दियो ? उहाँहरुले अहिले फेरि निर्दलीय अभ्यास भन्दै हुनुहुन्छ । सार्वभौम संसद् जोगाउने अन्तिम प्रयासलाई यसरी खिसिट्युरी गर्न मिल्छ ?’, उनले प्रश्न गरेका छन् ।

दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कार्य दुराशयपूर्ण रहेको बताएका छन् । उनले राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरेको बताएका छन् । दाहालले राष्ट्रपतिले जसरी पनि केपी ओलीलाई जोगाउनुपर्नेमा जोड दिएको बताए ।

‘राष्ट्रपतिले गरेको कार्य दुराशययुक्त छ । विद्यादेवी भण्डारी ओलीको मात्र होइन । ३ करोड नेपालीको राष्ट्रपति हो’, उनले भने, ‘रातारात गर्नुहुन्छ । मिनेटमा सिध्याइदिनुहुन्छ । प्रधानमन्त्रीले सिफारिस गर्नासाथ ५ मिनेटमा केही बिग्रिहाल्छ कि भनेर तुरून्तै अनुमोदन गर्नुहुन्छ । के मोहनी लाउनुभयो ? राजा वीरेन्द्रले त चार पाँच दिन लाउँथे ।’

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अ‍ोलीको सिफारिसमा गत जेठ ७ गतेदोस्रो पटक प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । प्रतिनिधि सभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ जना सांसदले निवेदन दिएका थिए ।

बुधबार गठबन्धनका पाँच कानुन व्यवसायीहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा ३० वटा रिट निवेदन परेका छन् । मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास बनाइएको छ ।