काठमाण्डु – सर्वोच्च अदालत प्रशासनले अदालत परिसरमा आन्दोलन नगर्न कानुन व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई फोन गरेर नाराबाजी नगर्न आग्रह गरेका हुन् ।
कुँवरले मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने उनले बताए । अध्यक्ष श्रेष्ठले सर्वोच्च प्रशासनले पहिले पनि प्रहरी प्रशासन लगाएर आन्दोलन दबाउन खोजेको बताएका हुन् ।
‘मलाई सर्वोच्च अदालत प्रशासनबाट हिजो फोन आएको थियो। उहाँहरुले सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न भन्नुभयो,’ श्रेष्ठले भने, ‘अदालतको कामकारवाहीमा प्रभाव पर्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निर्देशनमा उहाँहरुले हाम्रो प्रदर्शनमा अवरोध गर्न खोज्नुभएको हो । तर प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म हामी पछाडि हट्दैनौं ।’
सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले एक स्वरले राजीनामा माग्दै आएका छन् ।




प्रतिक्रिया