काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भैँसी पुजा गर्नुभन्दा पशुपतिनाथमा पुजा गर्नु राम्रो भएको टिप्पणी गरेका छन् ।
क्षमापूजाका लागि प्रधानमन्त्री ओली पशुपति पुगेको तस्वीरका विषयमा बेग्लाबेग्लै टिप्पणी भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बिहीबार सामाजिक सञ्जालमा दुई तस्वीर सेयर गर्दै सो टिप्पणी गरेका छन् ।
उनले फेसबुकमा प्रधानमन्त्री ओली पशुपतिनाथ पुगेको र प्रचण्डले भैँसी पूजा गर्दै गरेको तस्बिर राख्दै भनेका छन्, ‘प्रधानमन्त्री एवम् पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान साढे ८ बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवम् विशेष पूजा र दीप प्रज्ववलन गर्नुभयो ।
सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो । पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ । दैनिक हजारौँ जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।
दोस्रो तस्बिर–पुष्पकमल दाहाल प्रचण्डले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैँसी पूजा गर्नुभएको थियो । भैँसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वाभाविक मानिँदैन । बुझ्ने आआफ्नै स्तर हुन्छ । फरक चाहिँ यत्ति हो ।’




प्रतिक्रिया