सुरज वैद्यको घर भाडामा लिएर चिनियां नागरिकको अवैध कारोबार

सुरज वैद्यको घर भाडामा लिएर चिनियां नागरिकको अवैध कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले पक्राउ गरेका चिनियां नागरिकहरुले उद्योगी सुरज वैद्यको घर भाडामा लिएर अवैध कारोवारमा संलग्न रहेको पाइएको छ । तीनकुनेको गैरिगाउंस्थित वैद्य अर्गनाइजेशन रहेको घरमा उनिहरुले अवैध कल सेन्टर स्थापना गरेको पाइएको हो । वैद्य समेत केही चिनियां कम्पनीको साझेदार समेत छन् । यो घटनाको उनको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सोमबार स्काइ वल्र्ड कल सेन्टरमा छापा मारेको थियो । अवैध गतिविधि गरेको आशंकामा उक्त कल सेन्टरमा छापा मारेपछी एकछिन भागाभाग समेत भएको थियो । त्यहां ५ हजार युवा युवतीहरु कार्यरत रहेको आशंका छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले जानकारी दिएका छन् । व्यवस्थापन पक्षसँग अहिले सोधपुछ भइरहेको उनको भनाइ छ ।

प्रहरीले काठमाण्डुस्थित चिनियां दूतावासको सहयोगमा २०७६ पुस ७ मा काठमाण्डौंको महाराजगंज र ज्ञानेश्वरलगायतका विभिन्न क्षेत्रमा छापा हानेको थियो ।

प्रहरीले १ सय २२ जनाभन्दा बढी चिनियां नागरिक पक्राउ गर्नुको साथै विद्युतिय उपकरण र काजजात समेत बरामद गरेको थियो । पछी चिनियां सरकारले उनिहरुलाई फिर्ता लिन चार्टड जहाज नै काठमाण्डौं पठाएको थियो ।

अहिले पनि ज्ञानेश्वर, महाराजगंज, ठमेललगायतका क्षेत्रमा चिनियांहरुले अवैध काम गर्न कल सेन्टर चलाइरहेको स्रोत बताउंछ । जसमा माओवादी केन्द्रका रोल्पा घर भएका प्रभावशाली नेताहरुको आफन्तहरुको पनि सहभागिता रहेको बताइन्छ । प्रहरीले यसअघि उनिहरुको संलग्नताको प्रमाण फेला पारेपनि कारवाही गर्न आनाकांनी गरेको थियो ।

आइतबार पनि भैरहवाको तिलोत्तमा नगरपालिका २ जानकी नगरस्थित ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा प्रहरीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले एक जना भारतीयसहित ९ जना टिम लिडरहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूले सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज पठाउने, अश्लिल म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता काम गर्दै आएको पाइएको थियो ।