काठमाण्डु- सरकारले बैंक नोट बाहेकका सबै कागजात नेपालमै छाप्ने व्यवस्था गरेको छ।
आइतबार आयोजित अठारौँ पुस्तकालय दिवस–२०८२ मूल समारोहमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग सम्बन्धित सबै स्टिकर, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजात नेपालमै छाप्ने व्यवस्था मिलाइएको जानकारी दिए।
उनले भने ‘अबदेखि बैंक नोट बाहेक सबै कुरा हुलाक टिकट, स्मार्ट कार्डहरूदेखि लिएर हाम्रो लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्टसम्म सरकारसँग सम्बन्धित सबै स्टिकरहरू हाम्रो सुरक्षा मुद्रण केन्द्रमै छापिन्छन्। अहिले यहीँ छाप्छौँ। यो वर्षदेखि विदेशमा छापिँदै आएको हुलाक टिकट पनि यहीँ छाप्न सुरु गरेका छौँ।’
मन्त्री गुरुङका अनुसार यस वर्ष कर्मचारी अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनक शिक्षा सामग्री केन्द्रमार्फत छापिएको छ।‘कर्मचारी व्यवस्थापनको अभावका कारण यस वर्ष जनक शिक्षा सामग्री केन्द्रमार्फत भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा छाप्न दिएका हौँ। कर्मचारी व्यवस्थापन पूरा हुन अब एक हप्ता लाग्छ। त्यसपछि सबै सामग्री सुरक्षा मुद्रण केन्द्रमै छापिनेछ,’ उनले स्पष्ट पारे।
उनले बैंक नोट छाप्न छुट्टै मेसिन आवश्यक पर्ने भएकाले बैंक नोट विदेशबाट मगाउनुपर्ने बताए। साथै, हरेक मन्त्रालय, विभाग र सरकारसँग सम्बन्धित निकायले कागजात छपाइका लागि सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्ने नियमबारे पनि जानकारी दिए।
‘परराष्ट्र मन्त्रालयले ६४ लाख पासपोर्ट छाप्नुपर्ने भनेको छ। त्यस्तो जानकारी हामीलाई कम्तीमा ६ महिना अगाडि दिनुपर्छ। हरेक मन्त्रालय, विभाग र सरकारसँग सम्बन्धित संगठनले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित कागजात छपाइका लागि सुरक्षा मुद्रण ऐनअनुसार सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्छ,’ उनले भने।




प्रतिक्रिया