एमालेमा सदस्यता ‘होल्ड’ हुँदैन, भण्डारीबारे निर्णय भएको छैन : उपाध्यक्ष पाण्डे

एमालेमा सदस्यता ‘होल्ड’ हुँदैन, भण्डारीबारे निर्णय भएको छैन : उपाध्यक्ष पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले शनिबार सम्पन्न पार्टी पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृत सदस्यता ‘होल्ड’ गर्नेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

पार्टी प्रवक्ताले सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दा सदस्यता होल्ड गर्ने निर्णय गरिएको जानकारी दिएको विषयमा पत्रकारले सोधेको प्रश्नमा उपाध्यक्ष पाण्डेले एमालेमा सदस्यता होल्ड गर्ने प्रावधान नै नरहेको बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण, पार्टी राजनीतिमा प्रवेश र जिम्मेवारी सम्बन्धमा पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्ने जानकारी दिएको उनले बताए । उनका अनुसार यसबाहेक पूर्वराष्ट्रपति भण्डारीबारे बैठकमा कुनै निर्णय भएको छैन ।

उपाध्यक्ष पाण्डेले भण्डारीको सदस्यता पहिले नै नवीकरण भइसकेको आफूले सुनेको बताए । पार्टी महासचिव शंकर पोखरेलले पनि एक अन्तर्वार्तामा गत वर्ष नै भण्डारीको सदस्यता नवीकरण भएको जानकारी दिएका थिए ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आएर पार्टी अध्यक्ष नै बन्न खोजेपछि यतिबेला उनको सदस्यता नवीकरणको विषयमा विवाद उत्पन्न गरिएको छ । यस विषयमा छलफल गर्न आईतबार दिउँसो पूर्वराष्ट्रपति भण्डारी पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छिन् ।