हतारमा शिलान्यास, अझै भएन काम पूरा

हतारमा शिलान्यास, अझै भएन काम पूरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत- १५ मंसिर २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल प्रविधिबाट अस्पतालको शिलान्यास गरेका सल्यानका ८ पालिका भित्रका आधारभूत अस्पतालको शिलान्यास गरे पनि अहिलेस निर्माण हुन सकेको छैन । ६ वटा पालिकामा १५ शश्या र २ वटा पालिकामा १० शय्याको अस्पताल निर्माणका लागि शिलान्यास गरि दुई वर्षभित्रै अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य अझै पूरा हुन सकेको छैन ।

आफ्नै पालिकामा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानीय बासिन्दा पनि खुसी भएपनि निर्माणको गती देख्दा निरास भएका छन् । गाउँमै विशेषज्ञसहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानीयको सपना भने कहिले पूरा हुने हो अहिले प्रश्न कडा भएको छ । अस्पताल निर्माणका लागि शिलान्यास भएको २६ महिना हुँदा पनि केही पालिका अझै जग्गा खोज्दै छन् भने केही पालिकामा भवन निर्माण अलपत्र छ।

बनगाड कुपिण्डे नगरपालिकाकी दिलमाया खत्रीले स्वास्थ्य उपचारका लागि सल्यान जिल्ला अस्पताल खलंगा वा सुर्खेत जानुपर्ने बाध्यता रहेको बताइन्। ‘पालिकामै विशेषज्ञ उपचार सेवा पाउने आशामा बसेको २६ महिना भएको छ, तर अहिलेसम्म पनि भवन निर्माण भएको छैन। यसै वर्षदेखि मात्र भवन निर्माण शुरु भएको छ। त्यो कहिले पूरा हुन्छ थाहा छैन’, उनले भनिन्।

छत्रेश्वरी गाउँपालिकाका महेश घर्तीको पीडा पनि दिलमायाको भन्दा फरक छैन। तामझामका साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि जिल्ला अस्पताल वा निजी मेडिकल जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘जनतालाई आश्वासन दिनकै लागि हतारमा भवन शिलान्यास भयो तर अहिले काम हुन सकेको छैन। पालिकामै विशेषज्ञ उपचार पाउनबाट नागरिक बञ्चित भएका छन्’, उनले भनिन्।

जिल्लाको बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका बाहेक अरू ६ वटा पालिकामा भवन निर्माण शुरु भएको थियो। केही पालिकामा काम रोखिएको छ। दार्मा गाउँपालिकाको भल्चौरमा आधारभूत अस्पतालको पहिलो तलाको ढलान सकेर दोस्रो तलाको ढलानको तयारी हुँदै छ। कुमाख गाउँपालिकाको कालागाउँमा अस्पतालको पहिलो तलाको ढलानको तयारी छ।

कालिमाटी गाउँपालिकाको रामपुरमा पनि भवन निर्माण जारी छ। शिलान्यास भएर पनि जग्गा अपुग हुँदा निर्माण रोकिएको बनगाड कुपिण्डे नगरपालिकामा अस्पताल निर्माणको काम यसै वर्षदेखि शुरु भएको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले जानकारी दिए।

‘पहिले शिलान्यास गरिएको ठाउँमा जग्गा पुगेन, स्थानीयबाट जग्गा प्राप्त भएपछि अम्रामा भवन निर्माण शुरु भएको छ’, उनले भने। छत्रेश्वरी गाउँपालिकाको लेखपोखरामा अस्पताल भवन निर्माण अलपत्र छ। निर्माण कम्पनीले जग्गा सम्याउने र छड लगायतका सामग्री निर्माण स्थलसम्म पुर्‍याए पनि बाँकी काम अघि बढेको छैन। शिलान्यास भएको स्थानमा जग्गा कम हुँदा कपुरकोट गाउँपालिकाको धनवाङमा भवन निर्माण रोकिएको छ।

अस्पतालका लागि ७ रोपनी जग्गा हुनुपर्नेमा करिब २ रोपनी जग्गामा शिलान्यास गरेर निर्माण शुरु भएकाले अहिले निर्माण कार्य रोकिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए।