काठमाण्डु – सुर्खेतमा १६ वर्षीया बालिका बलात्कारपछि हत्या गरिएको घटनाको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ ।
घटनाको सूक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षकको कमाण्डमा सिआइबीको टोली तथा नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र वैज्ञानिक दुवै विधिबाट अनुसन्धान भइरहेको छ । उनले पोस्टमार्टम रिपोर्टसहित अन्य प्रमाणका आधारमा प्रहरी गम्भीर रूपमा अनुसन्धानमा लागेको र प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेको जानकारी दिए ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित धेरै प्रारम्भिक रिपोर्ट प्राप्त भइसकेका छन् भने पीडित र संदिग्ध व्यक्तिहरूका मोबाइल फोन डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ । साथै, मोबाइललगायत अन्य विद्युतीय सामग्री र घटनास्थलबाट सङ्कलन गरिएका प्रमाणहरू थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छुट्टै अनुसन्धान टोली समेत गठन गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया