सुर्खेतको मौसमी राडारमा वनमन्त्री र मुख्यमन्त्रीको असन्तुष्टी छैन्ः उर्जामन्त्रीको सचिवालय

सुर्खेतको मौसमी राडारमा वनमन्त्री र मुख्यमन्त्रीको असन्तुष्टी छैन्ः उर्जामन्त्रीको सचिवालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुर्खेतमा मौसमको जानकारी दिने राडार सञ्चालनबारे प्रकाशित समाचारप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको सचिवालयले आपत्ति जनाएको छ ।

उर्जामन्त्रीको सचिवालयले अनलाइनखबर र सम्पादकले सम्बन्धित पक्षसँग कुनै प्रतिक्रिया नलिई भ्रामक समाचार प्रकाशित गरेको भन्दै गम्भीर आपत्ति जनाएको हो ।

अनलाइनखबरले गत मंसिंर १७ गते सुर्खेतमा मौसमको जानकारी दिने ‘राडार’ सञ्चालन शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचारमा मौसम सम्बन्धी पूर्व सूचना दिने रेडियो डिटेक्सन एण्ड रेन्जिङ ‘राडार’को औपचारिक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री नगएको, वनमन्त्री असन्तुष्ट रहेको लगायतका समाचार कपोकल्पिक भएको उर्जा मन्त्रालयको सचिवालयले जनाएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पूर्व निर्धारित कार्यक्रमअनुसार उद्घाटनमा सहभागी भएका थिएनन् ।

‘उहाँहरू दुवै जना जगदुल्ला जलविद्युत् र नलगाड जलविद्युत् परियाजोनाका सबै कार्यक्रममा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनज्यूसँगै दिनभर सहभागी हुनुभएको थियो’, सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि वन तथा वातावरण मन्त्रालय मातहत रहेको भनिएको जल तथा मौसम विभाग शक्तिबहादुर बस्नेत वनमन्त्रीमा नियुक्त हुनुभन्दा पहिले नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गाभिएको थियो ।

ऊर्जामन्त्री पुनले कार्यालय आफ्नो प्रदेशमा सार्न खोजेको भन्नेमा पनि कुनै सत्यता नभएको र स्वयं मन्त्रीले नै राडारको औपचारिक उद्घाटनको क्रममा कार्यालय सुर्खेतमै रहने बताएको विज्ञप्तिमा जनाइएको छ ।

जल तथा मौसम कार्यालय कोहलपुर रहेको र उक्त स्थानमा विभागको भवन संरचना निर्माणाधीन रहेकाले सो कार्यालय हाल सुर्खेतबाट सञ्चालन भइरहेको छ । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट विभाग र अन्तर्गतका कार्यालयको नयाँ संगठन संरचना निर्माणका लागि निर्देशन भएकोमा सोही अनुरुप कर्णाली प्रदेशको सुर्खेत लगायत अन्य स्थानहरूमा मौसमी राडारहरू समेत सञ्चालन हुने गरी कार्यालय तथा जनशक्ति सहितको संगठन संरचना हुँदै गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।