पुस १० गते बिहान सुर्यग्रहण, काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने

पुस १० गते बिहान सुर्यग्रहण, काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने


काठमाडौं – नेपालमा पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ । दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिने नासाले जनाएको छ ।

खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
‘मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिन्छ’ भट्टराईले भने ।

भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट रिङ अफ फायरका रूपमा देखिने यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ । यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ ।

खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ । नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्ने बताइएको छ ।