काठमाण्डु – नेकपा एमाले सांसद सूर्य थापाले लडाकू शिविर काण्डको छानबिन गर्नुपर्ने धारणा राखेका छन् । संसदको आइतबार बसेको बैठकमा बोल्दै सांसद थापाले लडाकू शिविर र पूर्व राजदूत कमानसिंह लामाको करोडौं ठगि प्रकरणबारे समेत छानविन हुनुपर्ने बताए ।
उनले भने ‘प्रधानमन्त्रीले हिजो राति टेलिभिजनमा दबाव छ तर, म दबावमा पर्दिन भन्नुभयो । को मार्फत दबाव हो त्यो भन्नुपर्यो । मलाई प्युठानी जनताले टिकट काटेर पठाउनुभएको छ । म लडाकू शिविरको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु ।’
उनले पूर्व राजदूत कमानसिंह लामाको ठगि प्रकरणका बारेमा समेत छानविन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चुनौती दिए । लामा ठगि प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत नाम जोडिएको थियो ।
एमाले केन्द्रीय सदस्य समेत रहेका थापाले दोषीलाई नछाड्न र निर्दोषलाई फसाउने काम नगर्न खबरदारी समेत गरे । उनले भूटानी शरणार्थी प्रकरणमा पैसा बुझाएर जानेहरुमाथि समेत कार्वाही हुनुपर्ने बताए ।




प्रतिक्रिया