काठमाडौं – आइतबार साझा पार्टीबाट बाहिरिएका डा.सूर्यराज आचार्यले अन्य कुनै पार्टीमा प्रवेश नगर्ने बताएका छन् । उनले योग्य पार्टी नभएका कारण नयाँ पार्टीमा प्रवेश नगर्ने बताएका हुन् ।
‘म जस्तो व्यक्ति जाने कुनै पार्टी छैनन्,’ तीन वर्षदेखी साझा पार्टीको आवद्ध तोडेका डा.आचार्यले भने, ‘भएका पार्टीमा फटाहा हुन किन जाने ?’
वैकल्पिक राजनीतिका नाममा जे भईरहेको छ, त्यो अपुरो भएको उनले बताए । ‘वैकल्पिक राजनीति गर्न खोज्नेमा त्यो अनुसारको प्रबृत्ति, संरचना, छैन । त्यहाँ विरोधाभास छ,’ उनले भने । अराजनीतिक काम गरेर वैकल्पिक राजनीति गर्न नसकिने उनको बुझाइ छ । जनताले विद्यमान राजनीतिक दलको विकल्प खोजेका बेला निष्ठावान, इमानदार कोही नभएको उनले टिप्पणि गरे । वैकल्पिक राजनीति गर्न खोज्नेमा स्कुलिङ, सामुहिक चरीत्र, दृष्टिकोण नभएको उनको ठहर छ ।
१५ महिनादेखी साझा पार्टीको केन्द्रिय समितिमा राखेका निर्णयहरु परित नभएपछि उनले असहमति राख्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पार्टीका सबै संगठनहरू बिघटन गर्ने, साझा पार्टीको नेतृत्व र संगठनबारे नयाँ ढंगले छलफल गर्न माग राख्दै आएका थिए । ‘फराकिलो बृत्तमा जाऔँ । गाउ–गाउमा जनताको घरमा जाऔँ भन्ने प्रस्ताव थियो ।’ आचार्यले भने ।
अन्य केही कुरामा पनि आफ्ना असहमति रहेको उनले सुनाए । पार्टी शसक्त वैकल्पिक शक्ति बन्न सक्दैन कि भन्ने लागेपछि राजनीति छाडेर अध्ययन, अध्यापन लाग्नुपर्छ भन्ने निर्णय गरेको उनले सुनाए ।
साझा पार्टी छाडेर कतिपयले उनलाई सरकारी नियुक्ति लिन लागेको भन्दै टिका टिप्पणि गरेका थिए । त्यस्तो टिप्पणी गर्नेलाई उनले ‘कठै विचारा’ को संज्ञा दिए । ‘धेरैमा योे भ्रम छ । तर, त्यस्तो योजना छैन ।’ उनले दोहो¥याए ‘म लेख्ने, पढ्ने काममा लाग्छु ।’
के डा.सूर्यराज आचार्य ओलीका समर्थक हुन् ?
कतिपयले डा.सूर्यराज आचार्यलाई ओलीको समर्थकका रुपमा टिप्पणि गर्छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने बारेमा उनले बिभिन्न लेख र अन्तरवार्तामा बोल्दै आएका थिए । ओलीको समर्थक भनेर आरोप लगाउनेलाई आचार्यले विकृत मानसिकता भनेर टिप्पणि गरे ।
‘म व्यक्ति हैन एजेण्डामा समर्थन गर्छु,’ आचार्यले थपे ‘नाकाबन्दीमा ओलीले खेलेको भूमिका र उहाँका अरू राम्रा कामको तारिफ गर्छु ।’ राम्रो काम जसले गरे पनि समर्थन गर्ने उनले बताए । ‘म कमल थापाको इमानदारिता, चित्र बहादुर केसीको निष्ठा, शेरबहादुर देउबाको संघर्ष, रामचन्द्र पौडेलको सादगी तारिफ गर्छु । उनले भने, ‘म सबैको सकारात्मक पक्षको खोजी गर्छु ।’




प्रतिक्रिया