काठमाण्डु – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाईप्रति असन्तुष्टी जनाएका छन् । शनिबार नेकपाका नेता सुरेन्द्र पाण्डेमाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताहरुले नाराबाजी गरेको घटनामा प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका थिए ।
आइतबार बिहान ट्वीटमार्फत थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढेको गाडीमाथि ढुंगाप्रहार गर्दा पार्टी प्रवक्ता श्रेष्ठले वक्तव्य ननिकालेको तर, चितवनमा जिन्दाबादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार भन्नु लज्जाको विषय भएको बताएका हुन् । थापाले गुटगत वक्तव्यवाजी गरेको भन्दै प्रवक्ता श्रेष्ठको चर्को आलोचना गरेका छन् ।
‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ । गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी । दुबै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी’, उनले भनेका छन् ।
प्रवक्ता श्रेष्ठले चितवनको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य भएको बताएका थिए ।
‘यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन ।चेत होस्’, उनले भनेका थिए ।




प्रतिक्रिया