काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुखले संवैधानिक दायित्व भुलेको आरोप लगाएका छन् ।
मंसिर २८ र ३० मा प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक बैठक सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेपछि प्रधानमन्त्रीका सल्लाहकार थापाले आफ्नो संवैधानिक दायित्व बिर्सिँदै दुईपटक बैठक बहिष्कार गरेको दाबी गरेका हुन् ।
थापाले भनेका छन्, ‘सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत मंसिर २८ र ३० गते वहिष्कार गर्नुभयो, जबकि सभामुख त पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको छ ।’
संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले डाकेको बैठक सभामुख सापकोटाले बहिष्कार गरेपछि सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नै जारी गरेको छ ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्बाट सिफारिस अध्यादेशलाई जारी गरिसकेकी छन् ।




प्रतिक्रिया