काठमाण्डु- संसद्मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सँगै देखिएका राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई एमाले नेता सूर्य थापाले शनिबार बिहानै भेटघाट गरेका छन् ।
थापाले शनिबार बिहानै गौतमको भैंसेपाटीस्थित निवासमा पुगेर भेटघाट गरेका हुन् ।
थापाले सामाजिक सञ्जालमा गौतमसँग भएको भेटको तस्बिर सार्वजनिक गर्दै भेटघाट महत्वपूर्ण भएको जनाएका छन् ।
उनले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा आफूले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेको समेत जिकिर गरेका छन् ।
थापाले फेसबुकमा लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्वपूर्ण भेटघाट भएको छ । मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो–जाग्दो नै रहेको छ । हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुवैले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौं ।’

त्यसअघि शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संसद्को संयुक्त बैठकमा अध्यक्ष नेपाल र गौतमसँगै बसेका थिए । एकीकृत समाजवादीका सांसदहरू बसेकै लहरमा गौतम बसेका थिए ।
गौतम एकीकृत समाजवादीमा जाने चर्चाकै बिचमा संसद बैठकमा दुवै नेतासँगै देखिएका हुन् भने एमाले नेता थापा पनि सोही सन्दर्भमा गौतमसँग भेट गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया