कार्यसम्पादनमा इलामको सूर्योदय देशभरमा दोस्रो

कार्यसम्पादनमा इलामको सूर्योदय देशभरमा दोस्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ ।

गत वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यस वर्ष पनि ८० दशमलव दुई अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव सात अंक प्राप्त गरी डडेलधुराको अमरगढी नगरपालिका उत्कृष्ट भएको छ ।

जिल्लाका १० पालिकामध्ये देउमाई र माई नगरपालिकाले समान ६८ दशमलव एक अंक हासिल गरी दोस्रो तथा ६५ दशमलव तीन अंक प्राप्त गरी इलाम नगरपालिका तेस्रो भएको छ । चुलाचुली गाउँपालिका जिल्लाको गाउँपालिकामध्ये पहिलो भएको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चुलाचुलीले ५८, सन्दकपुरले ५७ दशमलव नौ, फाकफोकथुमले ५६ दशमलव तीन, रोङले ५४ दशमलव नौ, माङसेबुङले ५४ र माईजोगमाईले ४६ दशमलव दुई अंक प्राप्त गरेका छन् ।

सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जनप्रतिनिधि र कमर्चारीको सहकार्य, समन्वय एवं तालमेल र सरोकारवालाको सहयोगका कारण आयोगको कार्यसम्पादन मूल्यांकनमा आफ्नो पालिका देशभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको बताए ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिवेदनअनुसार वित्त आयोगको विभिन्न १७ सूचकलाई मध्ययनजर कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संकलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८’ का आधारमा मूल्यांकन गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहलाई यस्तो अंक प्रदान गर्ने गर्छ ।

कार्यसम्पादनबाट प्राप्त अंकका आधारमा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।