काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सरकार तोकिएकै मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिएको बताएकी छन् ।
मंगलबार बालुवाटारमा राजनीतिक दलहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन तयारीलाई प्राथमिकतामा राखेको बताउँदै सबै दलहरूलाई सहयोग र एकताको आग्रह गरिन् ।
‘चुनाव गराउन सरकार पूर्ण रूपमा कटिबद्ध छ,’ उनले भनिन्, ‘यसका लागि मन्त्रीहरू, सुरक्षा निकाय र प्रशासनका सबै अंग सक्रिय रूपमा काम गरिरहेका छन् ।’
बैठकमा दलहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा संवादको ढोका खुलेको स्मरण गरिन् । उनले भनिन्, ‘राष्ट्रपतिज्यूबाट संवादको वातावरण तयार भएको छ, अब जेनजी र दलहरू एउटै मञ्चमा बसौं र सहमति खोजौं ।’
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहतको व्यवस्थामा सरकारको समय गएकाले दलहरूसँग संवादमा ढिलाइ भएको बताइन् ।
‘घाइतेहरूको उपचार, सहिद परिवारको राहत र आन्दोलनकारी पक्षका माग सुन्नुपर्ने भएकाले केही समय लाग्यो,’ उनले भनिन्, ‘त्यो समयमा जेनजी युवाहरूले दलहरूसँग संवादमा बस्न पनि रुचाएका थिएनन् ।’
उनले मुलुकलाई स्थिरताका दिशामा लैजान निर्वाचनलाई सफल बनाउनु सबै दलहरूको साझा जिम्मेवारी भएको दोहोर्याइन् । उनले भनिन्, ‘स्थिति सामान्यीकरण गर्दै अब चुनावतिर लाग्नुपर्छ । सरकार तपाईंहरूको सबै चासो सम्बोधन गर्न तयार छ ।’




प्रतिक्रिया