भ्रष्टाचार विरुद्धको कारबाही कुनै पनि बहानामा रोकिँदैन : प्रधानमन्त्री कार्की

भ्रष्टाचार विरुद्धको कारबाही कुनै पनि बहानामा रोकिँदैन : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार विरुद्धको कारबाही कुनै पनि बहानामा नरोकिने स्पष्ट पारेकी छन् ।

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार सिंहदरबारमा भएको भेटमा उनले जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही पनि समानान्तर रूपमा अघि बढिरहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौं । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन, हामी रोकिँदैनौं ।’

भ्रष्टाचार छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोजस्ता स्थापित संरचनाहरू नै पर्याप्त रहेको भन्दै प्रधानमन्त्री कार्कीले थप आयोग गठन गर्ने आवश्यकता नरहेको प्रष्ट्याइन् ।

‘विगतमा ती निकायलाई प्रभावकारी रूपमा काम गर्न नदिइएको हुन सक्छ । दलीय प्रभाव परेको हुन सक्छ । हामी कुनै प्रकारको दबाब दिँदैनौं । ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्,’ उनले भनिन्, ‘समानान्तर रूपमा धेरै संरचना बनाएर मात्र पनि नतिजा आउने होइन । मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो ।’

उनले अहिले अख्तियार सहितका निकायहरूले आफ्नो रफ्तार बढाइरहेको र ठूला भ्रष्टाचारका विषय तथा प्रभावशाली व्यक्ति जोडिएका काण्डहरूमा कदम चालेको जानकारी पनि दिइन् ।

प्रधानमन्त्री कार्कीले मुलुकले प्रगति गर्न नसक्नुको मुख्य कारण सबै क्षेत्रमा भएको अतिदलीयकरण रहेको टिप्पणी गरिन् । ‘यहाँ किसानका नाममा पनि राजनीति भयो । किसानले मल पाउँदैनन् तर किसानको नेता देश–विदेश घुमिरहेको हुन्छ । सहुलितको मल, बिउ, ऋण समेत उसैले एकलौटी गरिरहेको हुन्छ,’ उनले भनिन्, ‘आफ्नो पेशा–व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ । भ्रष्टाचारको जड यहाँ पनि छ ।’

यस्तो वातावरणको अन्त्यका लागि नै युवाले आवाज उठाएको बताउँदै उनले आउँदो चुनावमा युवालाई नै संसद्मा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा राखिन् ।

भेटका क्रममा पार्टी अध्यक्ष किराँतीसहित प्रतिनिधिमण्डलका सदस्यहरूले जेनजीका आवाजहरू चाँडो सम्बोधन हुनुपर्ने माग राखेका थिए । उनीहरूले आन्दोलनकारी जेनजीहरूमाथि एकातिर प्रहरीले धरपकड गरिरहेको र अर्कोतिर केही दलले घोषित रूपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिमण्डलले कुनै दलले घोषित रूपमै गुण्डागर्दी गर्न संगठन खोलेर अघि बढेमा जेनजीले पनि प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै चेतावनी समेत दिएको थियो ।