दलीय हस्तक्षेपले शिक्षा प्रणालीलाई कमजोर बनाएको छ : प्रधानमन्त्री कार्की

दलीय हस्तक्षेपले शिक्षा प्रणालीलाई कमजोर बनाएको छ : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपालको उच्च शिक्षामा व्याप्त दलीय राजनीतिकरणको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयहरूलाई राजनीतिक अखडा नभई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षसँग आह्वान गरिन् ।

प्रधानमन्त्री कार्कीले शैक्षिक प्रशासनमा हुने अनावश्यक दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन् । ‘दलीय हस्तक्षेपले हाम्रो शिक्षा प्रणालीलाई कमजोर बनाएको छ, यसलाई सुधार्नु आजको प्रमुख चुनौती हो,’ सम्बोधनका क्रममा उनले भनिन् ।

उनले शिक्षामा राज्यको लगानी बढाउनुको विकल्प नरहेको समेत स्पष्ट पारिन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले एउटा महत्त्वपूर्ण नीतिगत परिवर्तनको संकेत समेत गरेकी छन् ।

प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने हालको व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताबोध भएको उल्लेख गर्दै उनले कुलपति र उपकुलपति नियुक्ति प्रक्रियालाई राजनीतिक प्रभावबाट मुक्त राख्न आवश्यक परामर्श र गृहकार्य भइरहेको जानकारी दिइन् ।

उच्च शिक्षाका लागि हजारौं नेपाली विद्यार्थीहरू विदेश जानुपर्ने बाध्यकारी अवस्थालाई अन्त्य गर्न स्वदेशमै गुणस्तरीय र विश्वबजारमा प्रतिस्पर्धी शिक्षा उपलब्ध गराउनुपर्नेमा उनको विशेष जोड छ । दीक्षित विद्यार्थीहरूलाई आफ्नो ज्ञान र सीपको प्रयोग मुलुकको हितमा लगाउन आग्रह गर्दै प्रधानमन्त्री कार्कीले शैक्षिक सुधारका लागि सरकार दृढ रहेको प्रतिबद्धता व्यक्त गरिन् ।