मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की

मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेकी छन् ।

बाह्रखरी कथा लेखन प्रतियोगिता २०८२ को विजेता घोषणा कार्यक्रममा बोल्दै उनले दल र जेनजीहरूको बिचमा सरकार परेको भन्दै वर्तमान अन्तरिम सरकार अचानो जस्तो भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले ३० जना जेनजीहरूमा एउटा यो गर भन्ने अर्कोले अर्को भन्ने गरेको भन्दै कतै मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन् । ‘हामी त अहिले अचानो जस्तो पो भएछौं । राजनीति दलले पनि अहिले छाड, भोलि छाड भनेर गाली गर्छन् । जेनजीले पनि आजै छाड भोलि छाड वा पर्सी छाड भन्छन् । छाडौं भने के छाडौं । फेरी छाडेको भोलिपल्ट थुक्क पालो त दिएको थिए त तिमीहरुलाई, औकात त छाडेर हिड्ने न रहेछ, के गरेर हिँड्यौ भन्ने होलान् । पेण्डुलम जस्तो भयौं तर धैर्य भएर काम गरिरहेको छौं,’ उनले भनिन्, ‘निर्वाचन किन चाहियो भन्ने युवाको कुरा आएको छ, त्यो त संसारको नियम कानुन नै रहेछ । वैधानिकता र अवैधानिकताको कुराहरु रहेछन । यसरी नै यही सरकार चलिरह्यो भने तानासाह हुन्छ, कतै जाँदा सुख नहुने कथा हाम्रो छ ।’

सो अवसरमा उनले सरकारकै कथा लेख्न कथा लेखन प्रतियोगितामा सहभागी ३० जनालाई अनुरोध गरिन् । ‘एउटा यो गर भन्नुहुन्छ अर्कोले अर्को भन्नुहुन्छ । हामी मुलुक बंगलादेश नहोस् भन्नेमा छौं,’ उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले फेरि देशमा मारकाट भयो भने देश झन् खतरामा जाने बताउँदै संसदमा छानिएर आउने सांसदहरू इमान्दार भएर मुलुकलाई हाँक्ने खालको हुनुपर्ने धारणा राखिन् । मुलुकलाई माया गर्ने युवा शक्ति देशको नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ ।