जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सधैं रहिरहनेछ : प्रधानमन्त्री कार्की

जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सधैं रहिरहनेछ : प्रधानमन्त्री कार्की


काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन् ।

उनले भनिन्, ‘फागुन २१ गते निर्वाचन गर्ने गरी सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’

नेपालको राजनीतिक परिवर्तनले समयानुकुल आमनागरिकको जीविका सुधार र व्यवहार पनि न्यायपूर्ण गर्न नसक्दा त्यो निराशा र वितृष्णाको विष्फोटक जेनजी आन्दोलन बन्न पुगेको उनले बताइन् ।

आन्दोलनको क्रममा भएको मानवीय क्षतिको मूल्य यकिन गर्न नसकिने भन्दै उनले एउटा गहिरो पीडायुक्त घाउ बनेर सधैं रहिरहने धारणा राखिन् ।

उनले भनिन्, ‘नेपालको राजनीतिक परिवर्तनले समयानुकुल आमनागरिकको जीविका सुधार गर्न सकेन, रोजगारीको अवसर पर्याप्त भएनन् । हाम्रा आचरण र व्यवहारमा पनि न्यायपूर्ण हुन सकेन । नागरिकमा निराशा र वितृष्णाको तह विष्फोटक बन्न पुग्यो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भयो । आन्दोलनको क्रममा भएको मानवीय क्षतिको न कहिल्यै पूर्ताल हुन सक्छ । न त त्यसको मूल्य नै यकिन गर्न सकिन्छ । यो एउटा गहिरो पीडायुक्त घाउ बनेर सधैं रहिरहनेछ ।’

प्रधानमन्त्री कार्कीले विभिन्न चुनौतीको सामना गर्दै निजी क्षेत्रले उच्च मनोबलका साथ अगाडि बढेको भन्दै प्रशंसा समेत गरेकी छन् ।