विभिन्न भाषाहरू हाम्रा सम्पत्ति भएकाले मर्न दिनु हुँदैन : प्रधानमन्त्री कार्की

विभिन्न भाषाहरू हाम्रा सम्पत्ति भएकाले मर्न दिनु हुँदैन : प्रधानमन्त्री कार्की


काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरू हाम्रा सम्पत्ति भएकाले मर्न दिन नहुने बताएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका २ वटा फरक–फरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

अध्यक्ष डा. गोपाल ठाकुरको नेतृत्वमा आएको आयोगको प्रतिनिधिण्डलले मातृभाषा शिक्षा सम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेश गरेको थियो ।

प्रतिवेदन ग्रहणपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रो देशमा १२४ वटा भाषा छन् । यी सबै हाम्रा सम्पत्ति हुन् । तर यीमध्ये कतिपय लोप हुन लागेका छन् । तर कुनै पनि भाषा मर्न दिनु हुँदैन । प्रत्येक भाषा उत्तिकै महत्त्वपूर्ण छन् ।’

भाषाको जगेर्ना गर्न यस खालका अध्ययन अनुसन्धान भइरहनुपर्ने धारणा पनि उनले राखिन् ।