अब गौरीबहादुर आयोगको प्रतिवेदन कार्यान्वयनमा जान्छ : प्रधानमन्त्री कार्की (अन्तर्वार्ता)

अब गौरीबहादुर आयोगको प्रतिवेदन कार्यान्वयनमा जान्छ : प्रधानमन्त्री कार्की (अन्तर्वार्ता)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अनेक आशंकाबिच प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिकको सहयोगले सरकार निर्वाचन गर्न सफल भएको बताएकी छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्री कार्कीले दिएको अन्तर्वार्ताको सम्पादित अंश :

निकै असहज परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो । आज निर्वाचन गराउन सफल हुनुभयो । कस्तो लागेको छ ?  

– प्राप्त जिम्मेवारी पूरा गर्न सकेकामा खुसी त लाग्ने नै भयो । म खुसी छु । हामीलाई प्राप्त जिम्मेवारी नै त्यही थियो । तर म एक्लैले यो सम्भव भएको होइन । सिंगो मन्त्रिपरिषद्को मेहनत लागेको छ । निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार सबैको भूमिका छ । खास गरी हाम्रो आह्वान स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुहुने नेपाली जनताले नै यसलाई सफल बनाउनुभएको हो ।

निर्वाचन सम्पन्न गर्नुअघि मुख्य रूपमा के–कस्ता चुनौतीको सामना गर्नुभयो ?

– चुनौती र बाधा अवरोधहरू धेरै थिए । मुख्य चुनौती सुरक्षाको थियो । एकीकृत निर्वाचन सुरक्षा योजना ल्याइयो । त्यो प्रभावकारी पनि भयो । सफलतासाथ शान्ति कायम गर्न सम्भव भयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र गृह प्रशासन सबैका बिचमा समन्वय पनि राम्रोसँग भयो । सबैले एउटै राष्ट्रिय भावनाका साथ काम गर्नुभयो । उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । सहिद परिवार तथा घाइते योद्धाहरूको संयम र समझदारीलाई पनि यहाँनिर बिर्सिन मिल्दैन । उहाँहरूप्रति उच्च सम्मान छ ।

निर्वाचनलाई लिएर सुरुदेखि नै आशंकाहरू गरिएको थियो । निर्वाचन नै हुँदैन, यो सरकारले गर्न सक्दैन भनिएको थियो । कसरी सम्भव तुल्याउनुभयो ?  

– तपाईँहरूलाई थाहै छ, कस्तो असहज र अनिश्चयपूर्ण अवस्थामा हामीले जिम्मेवारी सम्हालेका थियौँ ? तर हामीलाई आत्मविश्वास थियो काम गर्न सक्छौँ भन्ने । लगनशीलता भएमा कुनै कुरामा लागिपरे सम्भव हुने रहेछ । चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ । हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौँ। निस्वार्स्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । जति अवरोध भए पनि बाटो हामीले छाडेनौँ ।

चुनौतीहरू धेरै सामना गर्नुपर्‍यो । हामीलाई दलहरूले नै अयोग्य भनेकै हुन् । जेनजीका केही व्यक्तिले पनि औँला उठाएकै हुन् । तर हामीले मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लाग्यौँ ।

रक्तपात नहोस्, कुनै अप्रिय घटना नहोस्, शान्त र अनुशासित रुपमा निर्वाचन होस् भन्ने लागेको थियो । सभ्य हिसाबमा होस् भन्ने थियो । चुनावमा हिंसा हुनुहुँदैन भन्ने पहिलो दिनबाटै भनेको हो । हाम्रो प्रयास नै त्यसैमा रह्यो ।

कसले के भन्छ भनेर हामीले त्यस्ता कुरा सुन्दै सुनेनौँ । हामीले काम मात्र सोच्यौँ । हामीले हाम्रा लागि गरेका पनि होइनौँ । मुलुक र जनताका लागि गरेका हौँ । सिंगो मुलुकको साथ पनि पाइयो ।   

निर्वाचन गराउने सन्दर्भमा अझै केही राम्रो गर्न सकेको भए हुन्थ्यो भन्ने लागेको छ ?

– विदेशमा भएका र अन्तरजिल्ला मतदान गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको छ । खर्चमा हामीले मितव्ययिता अपनायौँ । अझै कम गर्न सकिन्थ्यो । तर भदौ २३ र २४ को घटनाका कारण धेरै साधन नयाँ किन्नुपर्‍यो । तैपनि यो निर्वाचन निकै नै सभ्य अनि अनुशासित रूपमा सम्पन्न भएको छ ।

आगामी जनप्रतिनिधि र सरकारलाई के भन्न चाहनुहुन्छ ?

– मुलुकका समस्याप्रति सबै जानकार छन् । सबैले समस्या देखेका छन् तर तिनको समाधानमा इमान्दार प्रयास आवश्यक छ । जेनजीले उठाएका मागहरू छन् । तिनको सम्बोधन गर्नुपर्छ । जस्तो कि देशमा सुशासन होस्, स्वदेशमै बस्न पाइयोस् । यहीँ काम पाइयोस् । भ्रष्टाचार, विभेद र पक्षपात नहोस् । विदेशमा लास बनेर फर्किनुपर्ने अवस्थाको अन्त्य होस् । देशभित्रै गुणस्तरीय शिक्षा पढ्न पाऊन् युवाले । संविधानसम्मत मौलिक हकको अक्षरश: पालना होस् । हामीले के गर्न खोजेका थियौँ, के सम्भव भयो, के अधुरो रह्यो र के काम के कारणले सम्भव हुन सकेन भन्ने विषयमा श्वेतपत्र नै छाडेर जान्छौँ । ताकि आगामी सरकारलाई मार्गदर्शन होस् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन के हुन्छ अब ?

– आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ । मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन । त्यसैले अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ । ताकि जनताले थाहा पाऊन् ।