नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ : प्रधानमन्त्री कार्की

नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको बताएकी छन् ।

सोमबार काठमाण्डुमा आयोजित एनआरएनएको १२औं ग्लोबल कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको बताइन् ।

उनले भनिन्, ‘नेपाल अहिले नयाँ परिवर्तनको नयाँ चरणमा छ । नयाँ जनादेश र बदलिँदो राजनीति परिवेशले मूलुकलाई स्थायित्व, विकास र समृद्धि अघि बढाउने आशा जगाएको छ ।’

उनले नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्द्धन आवश्यक रहेको बताइन् । प्रधानमन्त्री कार्कीले सबै गैरआवासीय नेपालीलाई मातृभूमिप्रतिको माया र जिम्मेवारी सम्झँदै नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह गरिन् ।

उनले भनिन्, ‘नेपालको विकास र समृद्धिको लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य लगानी ज्ञान, नवनप्रवर्द्धन आवश्यक हुन्छ । त्यसलै सबै गैरआवासीय नेपालीलाई मातृभूमिप्रतिको माया जिम्मेवारीलाई सम्झेर नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह व्यक्त गर्दछु ।’

मातृभूमिप्रतिको प्रेमले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै उनले जहाँ रहे पनि नेपाली हुनुमा गर्व गर्ने वातावरण निर्माण गर्न र देशको प्रगति तथा समृद्धिका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।