काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय पर्वका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गरेकी छन्।
सोमबार बिहान छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट अनुमोदन गराउन अपिल गरेकी हुन्।
उनले राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन पनि सबैलाई आग्रह गरेकी छन् ।
सन्देशमा प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो औंल्याएकी छन् ।
सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित यो पर्वले तराई–पहाडबीचको सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्ने सेतुको काम गरिरहेको उनले उल्लेख गरेकी छन् ।
‘सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो’, उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।’
‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ,’ उनले भनेकी छन्, ‘सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ ।’




प्रतिक्रिया