व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरूले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘पहिलेभन्दा अहिलेको चुनौती फरक छ । यो आत्मविश्वास र चुनौतीसँग जोडिएको छ । भर्खरैको जेनजी आन्दोलनले नेपाललाई सह्य हुने छैन भन्ने कुरा खुला लक्ष्मणरेखा स्थापित गरेको छ । यो युवा पुस्ताको प्रष्ट सन्देश हो । भ्रष्टाचार कमिसनको सञ्जाल सह्य छैन । लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन । नीतिगत चलखेल गर्नेहरू पोषिने अवस्था रहनु हुँदैन । राज्यविहीनताको फाइदा उठाउँदै औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण अस्वीकार छ । निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन ।’

मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने कुरा तथ्यांकहरूले बारम्बार प्रमाणित गरिसकेको उनले बताइन् । कूल गार्हस्थ उत्पादनमा, निर्यातमा, रोजगारी र करदाताका रूपमा निजी क्षेत्रको योगदान सधैं अग्रणी रहने उनको भनाइ छ ।

उनले उद्योगी व्यवसायीहरूलाई आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरूको परिचय दिएकी छन् । ‘मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने हाम्रा तथ्यांकहरूले बारम्बार प्रमाणित गरेका छन् । कूल ग्राहस्थ उत्पादनमा होस्, निर्यातमा होस्, रोजगारी या करदाताका रूपमा निजी क्षेत्रको योगदान सधैं अग्रणी छ । उद्योगी व्यवसायीहरूलाई म आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरू ठान्दछु । जसमाथि समग्र मुलुकले समृद्धिको धरोहरा अडिनेछ,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सहज वातावरण निर्माणको निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन् । रेमिटेन्सको भरमा मात्र बाँच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार जुटेको बताउँदै उनले विज्ञहरूको सुझावअनुसार पुँजीगत खर्चलाई तीब्र बनाउने दावी गरेकी छन् ।