देश युवालाई जिम्मा लगाएर ७० वर्ष पूरा भएका नेता घरमै आराम गरे हुन्छः पूर्वप्रधानन्यायाधीश कार्की

देश युवालाई जिम्मा लगाएर ७० वर्ष पूरा भएका नेता घरमै आराम गरे हुन्छः पूर्वप्रधानन्यायाधीश कार्की


काठमाण्डु – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशको नेतृत्व युवाहरुलाई हस्तान्तरण गर्नुपर्ने बताएकी छन् ।

बुधबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले ७० वर्ष उमेर पूरा भएका नेताहरुले विश्राम लिएर युवा पुस्तालाई देश हस्तान्तरण गर्नुपर्ने बताइन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले देश एउटा ट्र्याकमा जान सके १०/१२ वर्षमा देश स्वीजरल्याण्ड बन्न सक्ने बताइन् ।

‘एक खालको नेताहरु हुनुहुन्छ जो लडिरहनु भएको छ, भिडिरहनु भएको छ । उहाँहरुले छोडेर युवालाई थुपारिदिए हुन्छ । विदेश नगएर यही काम गर भने गर्छन्’, उनले भनिन्, ‘७० वर्ष पूरा भएकाहरुले त घरमा बसेर आराम गरिदिए हुने हो । योङ्ग जेनेरेशनलाई खट्न दिने हो । विकासका काम बोकेर बुढो नेताहरु सक्नुहुन्न ।’

उनले सरकार गठन हुनसक्ने अवस्था हुँदासम्म संसद विघटन संविधानले परिकल्पना नै नगरेको बताएकी छन् ।

‘कुनै हालतमा पनि हाउसले सरकार दिन सक्दैन भने मात्र विघटनमा जान पाउँछ । सरकार बन्नै नसक्ने हो भने अहिले ट्रायल नै भएको छैन’ पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘पार्टी एउटै छ रे, प्रधानमन्त्रीले हाउसमा ६४ प्रतिशत छ पनि भन्नुहुन्छ । यो के खालको विघटन हो ?’

उनले  देशको आर्थिक अवस्था कमजोर भएकाले औषधि किन्न पैसा नभएको अवस्थामा चुनाव कसरी गराउने भन्दै प्रश्न गरेकी छन् । त्यस्तै उनले निर्वाचनको मिति तोकेपछि महँगी बढेको बताइन् ।

चुनावका कारण बजारमा मूल्यवृद्धि मौलाएको बताइन् । नेताहरु जुहारी खेल्दै ठिक्क भएकाले सरकार आफ्नो काममा केन्द्रीत नभएको बताइन् ।