जेनजी आन्दोलन १–२ दिनको भए पनि भेल जस्तो ठूलो आयो : प्रधानमन्त्री कार्की

जेनजी आन्दोलन १–२ दिनको भए पनि भेल जस्तो ठूलो आयो : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शुसीला कार्कीले देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेको बताएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को मूल समारोह समिति गठन तथा कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘अलिकति देशमा परिवर्तन पनि आएको छ । भदौ २३ र २४ को आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको छ । हरेक ठाउँमा नयाँ युवाहरुलाई, अहिलेको युवतिहरुलाई ठाउँ दिनुपर्ने भावना आएको छ मुलुकमा ।’

प्रधानमन्त्री कार्कीले हरेक क्षेत्रमा नयाँ पुस्ता, विशेषगरी युवाहरू र युवतिहरूलाई अवसर दिनुपर्ने भावना बलियो हुँदै गएको बताइन् । यही भावनाबाट प्रजातन्त्र फस्टाउने र विकसित हुने उनको भनाइ थियो । उनले बनेको संविधानको मूल्यांकन गर्दै त्यसलाई कार्यान्वयनमार्फत अघि बढाउनु नै वर्तमान व्यवस्थाको प्रतीक भएको स्पष्ट गरिन् ।

उनले वर्तमान व्यवस्था एकैदिनमा आएको नभई २००७ सालको परिवर्तन, २०१७ सालको राजनीतिक घटनाक्रम, २०६२/६३ को जनआन्दोलन तथा ऐतिहासिक संघर्षहरूको परिणामस्वरूप संविधान बनेको बताइन् । पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’ १–२ दिनको भए पनि भेलझै ठूलो प्रभाव पार्ने खालको भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘प्रजातन्त्र फस्टाउने, फूलाउने एउटा संविधान जो बनेको छ, त्यसको मूल्यांकन गर्ने मुलुकमा एउटा सिस्टमलाई हाँकेर लिएर जाने त्यसकै प्रतिक हो यो एउटा । यो व्यवस्था एक दिनको कुराले आएको होइन, २००७ सालमा आयो, २०१७ साल आयो, ६२, ६३ को आन्दोलन र इतिहासिक हिस्ट्रीले नै संविधान आएको हो । अब यो जेनजी आन्दोलन १–२ दिनको भए पनि यो भेल जस्तो ठूलो आयो । हामीले परिवर्तित हुनुपरेको पनि छ । प्रजातन्त्रको लागि, लोकतन्त्रको बाटोमा जानको निम्ति अभ्यास गर्नुपर्नेछ ।’

प्रधानमन्त्री कार्कीले समयअनुसार आफूहरू पनि परिवर्तित हुनुपर्ने आवश्यकता औंल्याउँदै प्रजातन्त्र र लोकतन्त्रको मार्गमा अघि बढ्न निरन्तर अभ्यास आवश्यक रहेको बताइन् ।