विवादमा तानिइन् प्रधानमन्त्री

विवादमा तानिइन् प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषमा आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय विवादमा परेको छ ।

यो निर्णय नवयुवा आन्दोलनको मर्म विपरीत भएको भन्दै अभियन्ताहरूले विरोध गरेका छन् ।

जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले वर्तमान सरकारले पनि तत्कालीन सरकारले झैँ गलत नजिर स्थापित गरेको टिप्पणी गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकि छिन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेन जी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ ? यो देशले, बिस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि।प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद, विभाग वा समितीका कुर्सीहरू बाडफाड गर्नका लागि होइन।’

यस्तै पूर्वमन्त्री महावीर पुनले पनि प्रधानमन्त्रीले आफ्नै प्रमुख स्वकीय सचिवलाई नियुक्ति गर्नु गलत भएको बताएका छन् । पुनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको इज्जत धुलोमा नमिलाउने भए त्यो पद नलिन श्रेष्ठलाई आग्रहसमेत गरेका छन् ।

यस्तै किसिमको नातावाद र कृपावादले पुराना दलहरू खत्तम भएका र यही पाराले काम गर्ने हो भने नयाँ दलहरूको पनि उस्तै हविगत हुने उनको टिप्पणी छ ।

यसैगरी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेकी हुन्, ‘यो निर्णय कसको हो, निर्णय गर्नेको कि गराइनेको ? लेनदेन के छ ?’ ‘यो निर्णय साँच्चै कसको हो, निर्णय गर्नेको कि गराइनेको। लेनदेन के छ, पारस्परिक सम्बन्धमा के छ ? उनले प्रश्न गरेकी छिन् ।

प्रतिनिधिसभा सदस्य सागर ढकालले पनि प्रधानमन्त्री सुशीला कार्कीलाई गल्ती सच्याउन आग्रह गरेका छन्।

उनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘आमा, जति सुकै ठुलो महामानव भए पनि गल्ती हुन्छन्। हजुरले पनि देशलाई ठुलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ। जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनु हुनेछ भन्ने कामना गरेका छौँ।’

ढकालले कुनै स्पष्ट विज्ञता वा अनुभव नभएको व्यक्तिलाई प्रधानमन्त्रीको स्वकीय सचिव भएकै आधारमा राष्ट्रिय प्रकृति संरक्षण कोषजस्तो जिम्मेवार निकायको नेतृत्व सुम्पिन नमिल्ने तर्क गरेका छन्।

उनले यस्तो निर्णयले भविष्यमा योग्य र विज्ञ व्यक्तिलाई जिम्मेवारी दिने अभ्यास कमजोर हुने समेत बताएका छन्। ‘न कुनै विज्ञता, न अनुभव मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव ? यत्तिको आधारमा प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ? उनले लेखेका छन्, ‘त्यसमाथि अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिर अनुसार गाह्रो छ। ५ वर्षभरि नै हजुरको यो अन्तिम निर्णय बालेन, रवि र हाम्रोलागि तगारो पो हुने भयो।’

कोषका संरक्षकसमेत रहेकी प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिस्तरीय निर्णयबाट आफ्नै स्वकीय सचिव श्रेष्ठलाई आउँदो ५ वर्षका लागि कोषको अध्यक्षमा मनोनित गरेकी हुन् ।