काठमाण्डु – पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानका विषयमा स्पष्ट सन्देश दिएको बताएकी छन्।
भदौ २३ गते जेनजी आन्दोलनको एक वर्ष पुगेको स्मरण गर्दै कार्कीले एक वर्षअघि नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यसलाई दबाउने क्रममा निर्दोष युवाहरूको ज्यान गएको बताएकी छन्।
उनले आन्दोलनमा सहिद भएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
कार्कीले आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै राष्ट्रिय सम्पदा तथा धरोहरसमेत गुमेको उल्लेख गरेकी छन्। राष्ट्रको जीवनमा लागेको यो घाउ कहिल्यै बिर्सन नसकिने भन्दै उनले यस्ता घटना पुनः दोहोरिन नदिन सबै पक्ष इमानदार, जिम्मेवार र चनाखो भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्।
उनले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई महत्वपूर्ण सन्देश दिएको बताइन्। उनले संसदीय दुई तिहाइ बहुमतले मात्रै राजनीतिक स्थायित्व सुनिश्चित गर्न नसक्ने र स्थायित्व शासकको चरित्र तथा कार्यशैलीमा निर्भर हुने बताएकी छन्।
‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन’, कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ।’
उनले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन स्थापित गर्न तथा नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने अपेक्षा व्यक्त गरिन्।
सोही क्रममा जेनजी आन्दोलनबाट भएको जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उनले उल्लेख गरेकी छन्। विपद्को यस दुःखद घडीमा सबैले धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ।
कार्कीले एकअर्काको सहारा बन्दै दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गर्न सबैमा आग्रह गरेकी छन्।




प्रतिक्रिया