भारतीय मिडियामा सुशीला कार्कीको अन्तर्वार्ता : नेपालमा नेतृत्व लिन तयार छु

भारतीय मिडियामा सुशीला कार्कीको अन्तर्वार्ता : नेपालमा नेतृत्व लिन तयार छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तरिम सरकार प्रमुखमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू कुनै पनि भूमिकाका लागि तयार भएको बताएकी छन् ।

जेनजी पुस्ताका प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय गरेपछि भारतीय टिभी च्यानल न्यूज १८लाई दिएकी अन्तर्वार्तामा उनले नेपालमा भएको जेन जी पुस्ताको आन्दोलनले अल्पकालका लागि सरकार चलाउने जिम्मा ममाथि विश्वास गरेर दिएको बताएकी छन् ।

देशभरका करीब ९ हजारभन्दा बढी जेन जी प्रतिनिधिहरूले बुधबार भर्चुअल बैठकबाट कार्कीलाई सरकार प्रमुख बनाउन सहमत भएका हुन् । उनीहरूले नेपाललाई संकटबाट पार लगाउन कार्कीलाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

भ्रष्टाचार र नातावादका आरोपमा सरकार ढलेको भोलिपल्टै कार्कीलाई अन्तरिम सकरार प्रमुखमा प्रस्ताव गरिएको हो ।

नेपालर्की पहिलो महिला प्रधानन्यायाधीश कार्की अब नयाँ निर्वाचन नभएसम्म देशलाई संक्रमणकालीन चरणसम्म नेतृत्व गर्नेछिन् ।

अंग्रेजी भाषामा दिएकी अन्तर्वार्तामा कार्कीले आफू भूमिकाका लागि तयार भएको बताइन् । उनले भनिन्, ‘नेपालमा हालैको आन्दोलन जेन–जे समूहले नेतृत्व गर्‍यो र उनीहरूले अल्पकालका लागि सरकार चलाउने जिम्मा ममाथि विश्वास गरेका छन् ।’

कार्कीले आफ्नो तत्काल प्राथमिकता आन्दोलनमा ज्यान गुमाएका युवाहरूका परिवारलाई सम्मान र सहयोग गर्ने बताइन् । ‘हाम्रो तत्कालीन ध्यान प्रदर्शनमा ज्यान गुमाएका युवाहरूका लागि केही गर्नेमै हुनेछ,’ उनले थपिन् ।

‘मैले अन्तरिम सरकारको नेतृत्व गर्न उनीहरूको आग्रह स्वीकार गरेकी छु,’ उनले भनिन् । नेपालको राजनीतिक इतिहासबारे टिप्पणी गर्दै उनले वर्तमान अवस्था कठिन रहेको स्वीकार गरिन् । ‘नेपालमा विगतदेखि नै समस्या रहँदै आएको छ । अहिले अवस्था धेरै गाह्रो छ,’ कार्कीको भनाइ छ ।

तर चुनौतीबीच पनि उनी आशावादी र प्रतिबद्ध देखिइन् । ‘हामी सबै मिलेर नेपालको विकासका लागि काम गर्नेछौँ,’ उनले भनिन्, ‘हामी देशका लागि नयाँ सुरुवात गर्न प्रयास गर्नेछौँ ।’

भारतसँगको सम्बन्धबारे बोल्दै कार्कीले नेपाल–भारतको सम्बन्ध मजबुत रहेको बताइन् । ‘भारतप्रति धेरै सम्मान र माया छ । भारतले नेपाललाई धेरै सहयोग गरेको छ,’ उनले भनिन् ।

“मेरो भारतीय नेताहरूसँग राम्रो सम्बन्ध छ । म प्रधानमन्त्री नरेद्र मोदीलाई नमस्कार गर्दछु । मोदीजीबारे मेरो निकै राम्रो छाप छ,’ उनले भनिन् ।