प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुवैबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यादेश निर्वाचन भएकाले सहयोग पुर्‍याउन आग्रह गरेकी उनको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट बधाई सन्देश सुनाएका छन् । सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।

भेटमा राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले नेपाललाई भारतले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले आगामी असोज २ गते भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने तयारी भइरहेको जानकारी गराएका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै बधाई दिएका थिए ।