दार्चुला – अपी हिमाल गाउँपालिकाले आमाको पोषण सुधारका लागि भन्दै सुत्केरीलाई हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । यही फागुन १ देखि असार मसान्तसम्म सुत्केरी तथा गर्भवती हुने हरेकलाई पोषणमा सुधार ल्याउने उद्देश्यले प्रोत्साहन रकम दिने भएको हो ।
गाउँसभाले आमा सुरक्षाका लागि प्रोत्साहन रकम दिने निर्णय पारित गरेको गाउँपालिका प्रवक्ता रवीन्द्रसिंह बोहराले जानकारी दिए । अहिलेलाई सुत्केरी प्रोत्साहन कार्यक्रमका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले जानकारी दिइन् । सुत्केरी तथा गर्भवतीलाई पोषण स्वास्थ्यमा सुधार ल्याउन अहिले थोरै बजेट छुट्याइए पनि आगामी वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।
गाउँपालिकाभरि फागुनदेखि असारसम्म झन्डै ६० जना गर्भवती तथा सुत्केरी रहेको स्वास्थ्य शाखा संयोजक राजेन्द्रसिंह धामीले बताए । गाउँसभाले पदाधिकारीको पोसाक भत्ताका लागि छुट्याइएको बजेटलाई रकमान्तर गरी सो बजेटमार्फत अपांग, ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने तथा गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया