नेताले उपचारका लागि विदेश जान नपाउने व्यवस्था गरौँः सांसद सुवाल

नेताले उपचारका लागि विदेश जान नपाउने व्यवस्था गरौँः सांसद सुवाल


काठमाण्डु-  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेतालाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नपाउने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

त्यस्तै उनले शिक्षा र स्वास्थ्य उपचारमा रोक्ने काम गर्नु भनेको मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै मेडिकल कलेज खोल्ने र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने कामलाई सरकारले रोक्न नमिल्ने बताए ।

‘चिकित्सा शिक्षा निःशुल्क दिने, लाखौं चिकित्सक तयार गरी क्युवा देशले जस्तै अभाव भएको देशमा चिकित्सक पढन पठाउने र क्युबाले जस्तै मेडिकल टुरिज्मलाई अव सुरु गर्ने बेला ढिलो भईसकेको छ। स्वास्थ्य उपचारको रोक्नु, शिक्षामा रोक्नु भनेको एक किसिमको यो मानवताविरोधी अपराध हो। मान्छेले शिक्षा प्राप्त गर्न नपाउनु, मान्छेले उपचार गर्न नपाउनु भनेको मानवताविरुद्धको अपराध हो। अरु देशमा भए यस्तो मानवता विरोधी अपराध गर्ने अधिकारीहरु विरुद्ध मुद्धा चल्छ।मानव अधिकार आयोगले एकदमै कडा निर्देशन पनि दिन्छ। र, प्रत्येक प्रदेशमा एउटा अन्तराष्ट्रिय स्तरको सरकारी अस्पताल संचालन गर्नु जरुरी छ। अब उप्रान्त सरकारी नेता र नेता पत्नीको विदेशमा उपचार हुँदैन भनेर मन्त्रीले भन्नु जरुरी छ।’, उनले भने ।