काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी ५ वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता अन्त्य हुने बताएका छन् ।
काठमाण्डुमा आईतबार आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा. वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताए । उनले देशका युवा आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउँदै भने, ‘अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट नीतिगत पहल सुरु गरेका छौँ । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ ।’
देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी र व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोमा अघि बढ्ने जनाए ।
बजेटमा करको दर घटाएर १ लाखसम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उनको भनाइ थियो । अर्थमन्त्री डा. वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे । बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएका उनले बताए ।




प्रतिक्रिया